Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाली दूतावासको अनुरोध : कतारको कानुनको पालना गर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २२ गते


काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारको कानुनको पालना गर्न अनुरोध गरेको छ ।

दूतावासले आज विज्ञप्ति जारी गर्दै भनेको छ, “कतारमा विभिन्न पेसा र व्यवसायमा कार्यरत रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई कतारको नियम, कानुन, सांस्कृतिक मूल्य–मान्यता पूर्ण रूपमा पालना गर्न नेपाली राजदूतावास, दोहा हार्दिक अनुरोध गर्दछ ।”

दूतावासले सार्वजनिक स्थलमा मादक पदार्थको सेवन तथा झैझगडा, लागुपदार्थ ओसारपसार, मादक पदार्थ उत्पादन तथा बिक्री, अश्लील भिडियोको कारोबार नगर्न पनि अनुरोध गरेको छ ।

चेक बाउन्स, सामाजिक सञ्जालमा मिथ्या आरोप, गाली गलौज र चरित्रहत्या, तेस्रो मुलुक खासगरी पूर्वी युरोप पठाइदिने भनी ठगी कार्य, अध्यागमन र ट्राफिक नियमको उल्लंघन आदि दण्डनीय कार्य भएको हुँदा यस्ता कार्यहरूमा संलग्न नहुन दूतावासले भनेको छ ।

“कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिई कुनै पनि कार्यक्रम गर्न नहुने,” दूतावासले भनेको छ । नेपाली समुदायबीच एकता कायम गर्न सबै संघसंस्था र समाजहरूबीच आपसी सद्भाव र सहयोग अभिवृद्धि गर्ने कार्य गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

नेपाली चाडपर्वहरू मनाउँदा स्थानीय धार्मिक र सांस्कृतिक संवेदनशीलता तथा मूल्य–मान्यतालाई गम्भीरताका साथ ध्यान दिनुपर्ने दूतावासले बताएको छ । चाडपर्व होस वा अन्य समय, कुनै पनि बेला जुवातास खेल्न नहुने दूतावासले जनाएको छ ।

सार्वजनिक स्थलमा फोटो खिच्दा र टिकटक लगायतका भिडियो बनाउँदा अपरिचित व्यक्तिहरूलाई फ्रेममा लिन नहुने दूतावासले बताएको छ ।

 


प्रतिकृया दिनुहोस्