
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक (ईडी) मा जगरनाथ दास नियुक्त भएका छन् । नेपाल सरकार खानेपानी मन्त्री स्तरीय निर्णयले निर्देशकमा दासलाई नयुक्त गर्ने निर्णय गरेको हो ।
कार्यकारी निर्देशकमा नियुक्त भएका दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख थिए । उनले आयतबार मेलम्चीको कार्यकारी निर्देशकको रुपमा पदवहाली गरिसकेका छन् ।
त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ।
विभागको परिवर्तित स्थायी संरचना अनुसार तीन जना उपमहानिर्देशकको दरबन्दी रहेकोमा हाल तीनै जना उपमहानिर्देशक नियुक्त भएपछि विभागले पूर्णता पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरी महानिर्देशक श्रेष्ठले आर्थिक वर्षको सुरुमा नै महाशाखा प्रमुखहरुको दरबन्दीले पूर्णता पाएपछि विभागले अझ रफ्तारमा थप प्रगतिका कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे ।
उपमहानिर्देशक लामिछानेलाई खानेपानी महाशाखा, ढल तथा सरसफाइ व्यवस्थापन महाशाखामा उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठ र सेवा नियमन तथा समन्वय महाशाखाको जिम्मेवारी उपमहानिर्देशक नारायणप्रसाद आचार्यलाई तोकिएको विभागले जनाएको छ ।














