१४ भदौ, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक कटानका कारण बाटो अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था मिलाएको छ।
नेपाल आयल निगमले आज विज्ञप्ति जारी गर्दै
सडक अवरुद्ध भई ग्यास ढुवानीमा असुविधा भएपछि एलपी ग्यास उद्योगहरूसँग छलफल गरी काठमाडौं तथा आसपासका जिल्लामा ग्यास सिलिन्डर बिक्री–वितरणको व्यवस्था मिलाइएको हो।
निगमका अनुसार बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी र पाल्पामा रहेका एलपी ग्यास उद्योगलाई आफूलाई पायक पर्ने अन्य ग्यास उद्योगसँग समन्वय गरी आफ्ना बुलेट खाली गराई सिलिन्डर रिफिल गर्न भनिएको छ।
कृष्णभीरको बाटो नखुलेसम्म ट्रकमा एलपी ग्यास सिलिन्डर राखी वैकल्पिक मार्गबाट काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
त्यस्तै, पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिका लागि ट्रक तथा ट्यांकरलाई स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाडौंसम्म ल्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
निगमले यसबाट सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा एलपी ग्यासको आपूर्ति सहज बनाउने प्रयास गरिएको स्पष्ट पारेको छ।
































