
‘म मेरो छोरो लिन आएकी हुँ मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्
काठमाडौं । प्यालेटिनीनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन् ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले बोलाएपछि उनीहरु सोमबार इजरायल प्रस्थान गरेका थिए ।
उनीहरुलाई इजरायलको तेलअविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालका लागि पूर्वराजदूत हानन गोदार लगायतले स्वागत गरेका थिए ।
त्यहाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरुलाई प्रतिक्रिया दिँदै विपिनकी आमा पद्माले आफूहरु विपिनलाई लिन आएको भन्दै सहयोगको अपिल गरिन् । उनले भक्कानिँदै भनिन्, ‘म मेरो छोरो विपिनलाई लिन आएकी हुँ । मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्, सबैमा विनम्र अनुरोध छ ।’
विपिनकी बहिनी पुष्पाले पनि आँसु झार्दै भनिन्, ‘मेरो दाजु पढ्नका लागि आउनु भएको थियो, हाम्रो कसैसँग दुश्मनी छैन । उहाँलाई विनासित्ती नराख्नुस् । हामी उहाँलाई लिन धेरै टाढाको देश नेपालबाट आएका हौं ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासी घर भएका विपिन जोशी कृषि विषयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’का लागि इजरायल गएका थिए ।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलको किबुजमा आक्रमण गरेदेखि विपिन सम्पर्कमा छैनन् । सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने हमास लडाकुले विपिनसहित २५१ जनालाई बन्धक बनाएका थिए । युद्धविरामको क्रममा कतिपयलाई हमासले मुक्त गरे पनि विपिन मुक्त भएका छैनन् । नेपाल सरकारले उनको रिहाइका लागि कूटनीतिक पहल बढाए पनि विपिनको अवस्था अझै अज्ञात छ ।














