Skip

Hamro Sanchar

बजेट निर्माणका लागि तल्लो तहसम्म सुझाव संकलन गर्दै कागेश्वरी मनोहरा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ५ गते


काठमाडौं, असार ५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन थालेको छ । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र नगर तथा गाउँसभामा पेस गरिसक्नुपर्ने छ ।

यसैका लागि बजेट निर्माण अघि रायसुझाव संकलन थालिएको नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले बताए । बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन सुझाव माग गरिएको उनको भनाइ छ । नगरपालिकाले बुधबार सहकारी साखामार्फत सम्पूर्ण सहकारी संस्थाहरु, शिक्षासँग सम्बन्धित संघ संस्थाहरुसँग बृहत छलफल गर्दै सुझाव संकलन गरेको छ भने बिहिबार (आज) बिहान महिला समुह, सामुदायिक संघ, संस्था, गैर सरकारी संस्था र दिउँसो स्वास्थ्यसँग सम्बन्धित संघ संस्थाहरुसँग छलफलको कार्यक्रम राखेको छ ।

यस्तै शुक्रबार बिहान टोल विकास समितिका पदाधिकारीहरुसँग र शनिबार बिहान बिभिन्न राजनैतिक दलहरुसँगको छलफल तथा सुझाव संकलन कार्य गर्ने कार्यक्रम रहेको छ ।

नगरपालिकाको प्राथमिकताका विषय पहिचानमा सहजता, जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थ फरक बनाउन रायसुझाव माग गरिएको नगरप्रमुख कार्कीको भनाई छ ।

स्वरोजगार सिर्जना गर्ने, गुणस्तरीय शिक्षा कायम गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्ने गरी नगरपालिकाले रायसुझाव माग गरेको हो ।

‘नगरले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिने लक्ष्य छ’, प्रमुख कार्कीले भने, ‘यसैलाई आधार मानी आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा राय सुझाव माग गरेका छौँ ।’

नगरले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा मुख्य गरि पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने, कृषि, पर्यटन, लघु उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने खालका विषय प्राथमिकताका रुपमा अगाडी बढाउने भएको छ ।


प्रतिकृया दिनुहोस्