Skip

Hamro Sanchar

प्रधानमन्त्रीले आज एकैपटक ६४ सडकको शिलान्यास गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १८ गते


काठमाडौं । नेकपा ९एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैदिन मधेसमा ६४ वटा सडक निर्माण कार्यको शिलान्यास गर्दैछन्।

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मधेस प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयबाट प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे एकैपटक ६४ वटा पक्की सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मधेसका ८ जिल्लाका ६४ वटा प्रदेश निर्वाचन क्षेत्रमा एकएक वटाका दरले डिजिटल प्रविधिबाट सडकको शिलान्यास गर्न लागिएको हो।

ती सबै सडक पाँच किलोमिटरका रहने भौतिक पूर्वाधार विकासमन्त्री सञ्जय यादवले जानकारी दिए।

६४ निर्वाचन क्षेत्रमा गरेर कुल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरि बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भई डीपीआर समेत सकेर शिलान्यास गर्न लागिएको हो।

पाँच किलोमिटरका ती सबै सडक साढे ५ मिटर चौडाईका रहने छन्। यी सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने अनुमान गरिएको छ।

मन्त्रालयले बिश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ किलोमीटर कालोपत्रे सडक निर्माण, ३ सय २६ किलोमीटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ।

प्रादेशिक सडक संजाल गुरुयोजना अन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरण अन्तर्गतको यो विकास आयोजना सुरु हुन लागेको भौतिक पूर्वाधार विकासमन्त्री यादवले बताए।

प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदको सिफारिसका आधारमा सडकको छनौट गरिएको र सर्वदलीय सहमति अनुसार कार्यक्रम गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्