१२ भदौ, काठमाडौंं । नेपालमा आएको विनाशकारी बाढी र पहिरोले बगाएर लगेको शव भारतमा भेटिएको छ ।
उत्तर प्रदेशस्थित महाराजगञ्ज र कुशीनगर जिल्लामा गण्डक नदीमा फेला परेका छन् ।
समाचार अनुसार, महाराजगञ्जबाट चारवटा र कुशीनगर जिल्लामा तीनवटा गरी कुल सातवटा शव प्राप्त भएका हुन् ।
अधिकारीहरूका अनुसार, फेला परेका शवमध्ये पाँचजना महिला र दुईजना पुरुषका रहेका छन् । नेपालमा आएको भीषण बाढीका कारण नारायणी नदीमा आएको तीव्र बहावले बगाएर ती शवहरू भारततर्फ पुगेको अनुमान गरिएको छ ।
भारतीय सशस्त्र सीमा बलको उद्धार टोलीले नदीमा गस्ती गर्ने क्रममा बगिरहेका शवहरू देखेको जनाएका हुन् । मोटरबोटको प्रयोग गरी शवहरूलाई नदीबाट बाहिर निकालेर महाराजगञ्ज र कुशीनगर जिल्ला मुख्यालय पठाइएको छ ।



























