
काठमाडौं, जेठ १५- कागेश्वरी मनोहरा नगरपालिकाको ५ नम्बर वडालाई बालश्रम मुक्त वडा घोषणा गरिने भएको छ । वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनमुक्त वडा घोषणा गर्न लागिएको हो ।
आगामी जेठ २९ गते विश्व बालश्रम विरुद्ध दिवसको अवसर पारेर वडालाई बालश्रम मुक्त वडा घोषणा गर्न लागिएको वडाअध्यक्ष शंकर पाण्डेले जानकारी दिए ।
बिहिबार नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा बिभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुको सहभागितामा प्रभातफेरीको आयोजना गरिएको थियो । वडा कार्यालयको प्राङ्गणबाट बिहान ८ बजे प्रभातफेरी सहित वडा परिक्रमा पश्चात नगरपालिकाको सभाहलमा समापन कार्यक्रम राखिएको थियो ।
नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सबिना श्रेष्ठकाअनुसार ४ हजार घरधुरी रहेको वडामा १२ हजार ८ सय ६० जनसंख्या रहेको छ । जसमा १ हजार ५ सय ६६ बालबालिका रहेका तथ्यांक छ । उक्त संख्या मध्ये ८ सय २६ जना बालक रहेका छन् भने ७ सय ५१ जना बालिका रहेका छन् ।
बालबालिकाको सुन्दर भविष्य निर्माणमा घरपरिवारको प्रमुख भुमिका रहेता पनि वडाको पनि ठुलो जिम्मेवारी र दायित्व हुने भन्दै वडाध्यक्ष पाण्डेले बालबालिकाको क्षेत्रमा वडाले लगानी गरिरहेको बताए । बालबालिकाको बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारको विषयमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।
बाल शोषण, श्रम र हिंसा अपराध भएकाले सभ्य समाज निर्माणका लागि अन्य वडालाई पनि बालश्रम मुक्त घोषणा गर्दै कागेश्वरी मनोहरालाई बालमैत्री नगर घोषणाको तयारी भैरहेको बुझिएको छ ।