
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न उनी त्यसतर्फ जान लागेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, एसपी श्यामबाबु ओलियाका अनुसार प्रधानमन्त्री ओली ११ बजे हेलिकप्टरमार्फत त्यहाँ पुग्नेछन्।
पोखराको अमरसिंह चौरमा प्रधानमन्त्री महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली पोखरा जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शङ्कर पोखरेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायतले सम्बोधन गर्ने तय भएको एमाले केन्द्रीय सदस्य तथा युवा संघ नेपालका इन्चार्ज राजीव पहरीले बताए।
महाधिवेशनमा देशभरबाट २ हजार प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए।
युवा संघको नेतृत्व लिन पाँचजना आकांक्षी छन्। अहिलेका अध्यक्ष क्षितिज थेबे दोहोरिन चाहन्छन् भने उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ र प्रकाश गौतम पनि दौडमा छन्। वर्तमान महासचिव सुमन पुरीले पनि आकांक्षी छन् ।

















