
काठमाडौं । काठमाडौं महानगरपालिका-८ गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ ।
गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएका छन्।
बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।
दुर्घटना करिब १२ बजेतिर भएको थियो । दुर्घटनामा घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको बोहराले बताए ।
दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र९२९०१९००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन् ।