Hamro Sanchar

विष सेवन प्रकरण : तीन सन्तान गुमाएकी आमाको पनि मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १२ गते


जनकपुरधाम । विष सेवनका कारण तीन सन्तान गुमाएकी र आफैँ पनि सिकिस्त रहेकी महिलाको उपचारको क्रममा निधन भएको छ ।

जनकपुरधामस्थित राम जानकी अस्पतालमा उपचारको क्रममा धनुषाको शहिदनगर नगरपालिका ५ बासुदेवपटट्टीकी ३० वर्षीया पविता कुमारी साहको निधन भएको हो ।

आज बिहान पोने १० बजे पविताको निधन भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

गत सोमबार पविता र उनका तीन छोरा–छोरी विष सेवन गरेको अवस्थामा घरमै फेला परेको थियो । आफन्त र छिमेकीले थाहा पाए लगत्तै उनीहरूलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगेको थियो । तर अस्पतालले पविताका ६ वर्षीय छोरा आदित्य, ४ वर्षीया छोरी आकृति र २ वर्षीया छोरी आरुसीको मृत घोषणा गरेको थियो ।

आमा पविताको अवस्था सिकिस्त थियो । सोमबार उनको प्रादेशिक अस्पतालमै भेन्टिलेटरमा राखेर उपचार गरियो । उनी गर्भवती थिइन् । त्यहाँ उपचार सम्भव नभएपछि राम जानकी अस्पतालमा रेभर गरिएको थियो ।

प्रहरीका अनुसार राम जानकी अस्पतालमा शल्यक्रिया गरी बच्चा निकालिएको छ । प्रहरीले उनको श्रीमान् सुशिलले उपचार गराइरहेको बताएका थिए । तर श्रीमान् सुशील अस्पतालसम्म गएका छैनन् । अस्पतालमा शल्यक्रिया गर्ने बेला समेत घरका कोही नगएपछि छिमेकीले मन्जुरीना कागजमा हस्ताक्षर गरेका थिए ।

प्रहरीले घरायसी विवादका कारण पविताले आफन्त सन्तानलाई विष खुवाएर आफैँ पनि खाएको बताउँछन् । तर घटना शंकास्पद देखिएको छ । पविता शारीरिक र मानसिक यातनाका कारण विष सेवन गरेको उनको माइत पक्षको आरोप छ ।

पविताको उपचार गराउन पनि श्रीमान् वा परिवारका अन्य सदस्य कोही अस्पताल नजानुले पनि घटना शंकास्पद देखिन्छ । उनका श्रीमान् सुशील राइस मिल चलाउँछन् । उनी ट्याक्टर चालक पनि हुन् । सुशीलका बुवा अर्थात् पविताकी ससुरा नारायण साह वडा सदस्य छन् ।


प्रतिकृया दिनुहोस्