Hamro Sanchar

काठमाडौँ महानगरका कर्मचारीले पाए रोकिएको तलब

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २४ गते


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले रोकिएको तलब पाएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार कर्मचारीहरूले तलब पठाएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए ।

‘प्रमुख प्रशासकीय अधिकृत सर कार्यालय फर्किएपछि सबैको तलब आएको छ,’उनले भने, ‘अहिले सबैका मोबाइलका घण्टी बजिरहेका छन् । साँझसम्म सबैको तलब आउँछ । बिस्तारै सबै अवरोध हटेर जान्छ ।’

गत पुसमा अनधिकृत कार्य गरेको भन्दै गुरागाईं मेयर बालेन्द्र शाह ‘बालेन’ ले बिदामा बस्न लगाएका साथै कार्यालयमा आउन रोक लगाएका थिए । त्यसपछि तलब नपाएको भन्दै महानगरका कर्मचारी जनप्रतिनिधिले बिहीबार मात्रै गुरागाईं कार्यालयमा प्रवेश गराएका थिए ।

गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन मेयर शाहले नगर प्रहरी खटाएका थिए । साथै गुरागाईं कार्यकक्ष प्रवेश गर्ने क्रममा महानगर प्रहरीले अवरोध सिर्जना गरेको थिए । गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास भएपछि उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षका साथै कर्मचारीहरूले कार्यकक्षमा पुराएका थिए । कार्यकक्ष पुग्दा ताला नखोले पछि ढोका फोडेर गुरागाईंलाई हाजिर गराएको थियो ।

तर अहिले गुरागाईंलाई कार्यालयमा जान कुनै रोकतोक नभएको काफ्लेको भनाई छ । यसअघि गत पुसदेखि प्रमुख प्रशासकीय अधिकृत बिदामा रहेकाले काठमाडौँ महानगरपालिकाका मेयरदेखि सरसफाइ कर्मचारीसहित करिब ४ हजार कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको गुनासो गरेका थिए ।

यसमध्ये शिक्षकहरूले ५ महिनादेखिको तलब बुझेका थिएनन् भने अन्य कर्मचारीले तीन महिनायता तलब बुझ्न नपाएको महानगरले जनाएको थियो ।


प्रतिकृया दिनुहोस्