६ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै छन् ।
महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको सामान्य बहसलाई सम्बोधन गर्नेछन् । भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत छ ।
प्रधानमन्त्रीको नेतृत्वमा अमेरिका जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित सरकारका वरिष्ठ अधिकारीहरू रहनेछन् ।
महासभामा नेपालले जलवायु परिवर्तनबाट मुलुकले व्यहोरेको क्षति, जलवायु न्याय र वित्त तथा हिमाली क्षेत्रमा परेको असरका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेको छ ।
महासभा सम्पन्न भएपछि प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल भने असोज १३ गते नेपाल फर्किनेछन् ।
































