६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् ।
यसपटक उनको विदेश भ्रमणका क्रममा विमानस्थलमा गरिँदै आएको औपचारिक विदाइ कार्यक्रम भने नहुने भएको छ ।
प्रधानमन्त्री शाह बालुवाटारबाट सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने र भीआईपी मार्ग हुँदै विमानतर्फ जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
विमानस्थलको भीआईपी लाउन्जमा मन्त्री, सुरक्षा निकायका प्रमुख, कर्मचारी, कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरूको उपस्थितिमा हुने परम्परागत विदाइ कार्यक्रम राखिएको छैन ।
त्यस्तै, नेपाली सेनाबाट प्रदान गरिने गार्ड अफ अनरको कार्यक्रमसमेत तय गरिएको छैन ।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मुलुक शोकमा रहेका बेला प्रधानमन्त्रीको भ्रमणमा औपचारिक तामझाम नगर्ने निर्णय गरिएको जनाइएको छ ।
प्रधानमन्त्री शाह साँझ ७ बजे कतार एयरवेजमार्फत न्युयोर्क प्रस्थान गर्नेछन् । उनले असोज ८ गते (सेप्टेम्बर २४) संयुक्त राष्ट्रसङ्घ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
न्युयोर्कमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।
प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी छन् । प्रधानमन्त्री शाह असोज १० गते नेपाल फर्किनेछन् ।































