६ असोज, काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा विपक्षीका नाममा २४ घण्टाभित्र लिखित जवाफसहित बन्दीलाई उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसमेतका विपक्षीका नाममा यस्तो आदेश जारी गरेको हो।
दाहालकी छोरी डेनीका दाहालले उनका तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
सामाजिक सञ्जाल र युट्युबमार्फत भ्रामक सूचना फैलाएको तथा साइबर अपराध गरेको आरोपमा दाहाललाई असोज ४ गते मोरङको सुन्दरहरैँचाबाट प्रहरीले पक्राउ गरेको थियो।
त्यसपछि थप अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको थियो ।
































