Hamro Sanchar

कुलमान उज्यालोको नायक होइनन्, लोडसेडिङ हुने अवस्था छ : ऊर्जामन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ५ गते


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ हुने अवस्था अहिलेपनि रहेको बताएका छन् ।

अहिले पनि ८२५ मेगावाट विद्युत् आयात गरेर नेपालको आपुर्ति धानिरहहेको बताउँदै ऊर्जामन्त्री खड्काले भारतबाट आयातित विद्युत्‌का कारण लोडसेडिङ हटेजस्तो भएको जिकिर गरे ।

‘हिजो पनि लोडसेडिङ थियो, आजपनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ,’ ऊर्जामन्त्री खड्काले भने, ‘हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ । निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युत्‌ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभुति भएको छ ।’

मन्त्री खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको पनि जिकिर गरे ।

राष्ट्रिय सभाको आजजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले उद्योगको लाइन काटेर घरमा विद्युत् दिएपछि कुलमानले लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप लगाए ।

‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत आपुर्ति हुन सकेको छैन,’ खड्काले भने, ‘त्यसकारण उज्यालोको नायक भनेको उहाँ होइन है । बरु यो धन्यावाद भारतलाई दिउँ निजी क्षेत्रलाई दिउँ । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ त्यता धन्यावाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो ।’

मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिएपनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताए ।


प्रतिकृया दिनुहोस्