१० भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीमा परेकामध्ये हालसम्म ९५ जनाको शव फेला परेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रकाशित गरेको विवरण अनुसार उक्त संख्यामा शव फेला परेको हो ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना र विभिन्न प्रहरी चौकीमा कार्यरत २८ प्रहरी र सशस्त्र बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
प्रभावित क्षेत्रका विभिन्न विद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारी सम्पर्कविहीन भएका छन् । बाढीका कारण १९ वटा मोटरेबल पुल र ४० किलोमिटर सडकमा क्षति पुगेको विवरणमा भनिएको छ ।
बाढीका कारण घाइते २१ जनाको रसुवा अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, ३६ जनालाई ट्रमा सेन्टर। शिक्षण अस्पताल र सैनिक अस्पतालमा पुर्याएको छ । घाइतेको निःशुल्क उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्था गरिएको छ ।































