Hamro Sanchar

८२ क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २८ गते


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ६२ ओटा आंगिक क्याम्पससहित अन्य एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा तोकेको स्ववियु निर्वाचन अन्तर्गत ८० भन्दा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

६२ ओटा आंगिक क्याम्पसमध्ये धनकुटा बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियु र दाङको महेन्द्र बहुमुखी क्याम्पसमा कांग्रेसनिकट नेविसंघले सभापति पाएका छन् ।

अन्य आंगिक क्याम्पसमध्ये केहीमा विद्यार्थी संगठनले ताला लगाएका कारण निर्वाचन प्रक्रिया अघि बढेको छैन,भने बाँकीमा चैत ५ गते मतदान हुनेछ । त्रिवि विद्यार्थी कल्याणकारी परिषदले आंगिक क्याम्पसबाहेक अन्यत्रको निर्वाचन परिणाम आफूहरुकहाँ नआउने जनाएको छ ।

हालसम्म विद्यार्थी संख्या थोरै भएका साना क्याम्पसहरुमा सम्बन्धित ठाउँमै सहमतिबाट पदाधिकारी चयन भएका छन् । अहिलेसम्म प्राप्त परिणाम अनुसार एमालेनिकट अनेरास्ववियुले एक आंगिकसहित ३२ क्याम्पसको सभापति जितेको छ ।

त्यस्तै नेविसंघले एक आंगिकसहित २८ क्याम्पसमा सभापति जितेको छ । माओवादीनिकट अखिल क्रान्तिकारीले २१ र नेकपा एसनिकट अनेरास्ववियूले एक सभापति पाएका छन् ।


प्रतिकृया दिनुहोस्