
काठमाडौं, फागुन २३- काठमाडौं शंखरापुर नगरपालिकाको साँखुको एक अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ३:४० मा अनाथालयभित्र टिपर अनियन्त्रित भइ छिर्दा ३ जनाको मृत्यु भएको साँखु प्रहरीले जनाएको छ ।
द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा अनियन्त्रि टिपरको छिर्दा २१ वर्षीय आकाश, २१ कै सुमन, ४५ वर्षीय हरिजनको मृत्यु भएको हो ।
उक्त अनाथालय युबराज थापाले संचालन गर्दै आएका छन् । टहरामा जम्मा ६१ जना बस्छन् । टिपर छिरेको कोठामा १० जना सुतिरहेका थिए ।
नगरपालिकाको वडा नम्बर-६ साँखु, सलम्बुटारस्थित साँखु-ब्रमखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ दुर्घटना भएको हो ।
सिन्धुपाल्चोक मेलम्ची-१२ का २५ वर्षीय सागर माझीले चलाएको टिपर चलाएका थिए ।
टिपरको ठक्करबाट घाइते भएका ती व्यक्तिलाई तत्काल उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएको थियो । तीनै जनालाई अस्पतालले मृत घोषणा गरेको हो ।
टिपर र चालकलाई हाल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।