Hamro Sanchar

जनताले गणतन्त्रको विकल्प खोजेका छैनन :  गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ९ गते


मोरङ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताएका छन् ।

जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प आफूले कल्पनासमेत गर्न नसक्ने उनको भनाइ छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै थापाले राजसंस्थाको बहसमै आफूले भाग लिन नचाहेको उल्लेख गरे ।

उनले भने, ‘नेपालका नागरिकहरु, जसले विगतमा पटक–पटक निरंकुशता र तानाशाही शासनव्यवस्थाको अनुभुति गरेर आएका छन्, उनीहरु कसैले पनि यो व्यवस्थाको, यो लोकतन्त्रको विकल्प खोज्छ भन्ने म मान्दै मान्दिनँ । यस्तो कल्पना पनि गर्दिनँ । यो बहसमा भाग लिनु पनि आफैंमा नेपाली नागरिकको भरोसालाई गिज्याउन हो भन्ने ठाँछु । यसमा छलफल पनि नगरौं भन्ने अनुरोध छ ।’

पूर्वराजाले हालै प्रजातन्त्र दिवसका अवसरमा दिएको अभिव्यक्तिलाई लिएर कुनै कदम चाल्नु आवश्यक नरहेको थापाको भनाइ छ ।

उनी भन्छन्, ‘गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्वराजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन् । विगतमा पूर्वराजाको शासनकालमा हामीले बोलेकै भरमा राज्यद्रोहको मुद्दामा जेलमा हालिएको थियो । तर, पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुखबन्द गर्न जादैनौँ ।’

प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति नभएर सरकारको काम–कारबाहीप्रति असन्तुष्टि जनाउने गरेको भन्दै उनले निर्वाचनको माध्यमबाट त्यो असन्तुष्टि व्यक्त हुने टिप्पणी गरे ।

‘पार्टीका नेता तथा कार्यकर्ताले गुट–उपगुट नबनाई जनताको सर्वोपरी हितकालागि क्रियाशील हुनुपर्छ,’ महामन्त्री थापाले भने ।
सञ्चारकर्मीको एक जिज्ञासामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशका सम्बन्धमा सत्तामा रहेका दलहरूसँग छलफल गरिरहेको बताए । केही दिनभित्र समझदारी हुने विश्वास उनले व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया सुरु भइसकेको र विधानले तोकेको सीमाभित्रै सबै प्रक्रिया पूरा हुने पनि महामन्त्री थापाको भनाइ थियो ।

‘महाधिवेशन एउटा नियमित प्रक्रिया हो । यसमा प्रतिस्पर्धा हुन्छ । समूहहरु बन्छन् । महाधिवेशन पार्टीले तोकेको समयको सीमाभित्र हुन्छ,’ उनले भने ।


प्रतिकृया दिनुहोस्