काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको आवास तथा खानाको व्यवस्था गर्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनाअनुसार आज साँझ र भोलि बिहानसम्म अप्ठ्यारोमा परेका प्रतिनिधिहरूका लागि आवासको प्रबन्ध गरिनेछ।
एक दिन अधिवेशन लम्बिएका कारण समस्या परेका प्रतिनिधिहरूले आफ्नो क्षेत्रीय सभापतिमार्फत आज साँझ वा भोलि बिहान केन्द्रीय कार्यालयको डेस्कमा सम्पर्क गर्नुपर्नेछ। त्यसपछि आवश्यक व्यवस्थापन गरिने कांग्रेसले जनाएको छ।
त्यस्तै, आज २२ गते साँझसम्म पूर्वनिर्धारित सेड्युलअनुसार खानाको व्यवस्था यथावत रहनेछ। आवश्यकताअनुसार थपिएको समयावधिका लागि खाना साविककै स्थान भृकुटीमण्डपमा उपलब्ध गराइनेछ।
निर्धारित समयभन्दा थप एक दिन लम्बिएको अवस्थालाई बाध्यताको रूपमा लिएर एकताबद्ध ढंगले भोलि बिहानैदेखि निर्वाचन प्रक्रियामा सहभागी हुन सभापति गगनकुमार थापाले सबैलाई आग्रह गरेका छन्।
































