
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेस अहिले सरकारमा नरहेको बताएका छन्।
मंगलवार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले उनले कांग्रेस सत्ता पक्षमा रहेको तर सरकार बाहिर रहेको जिकिर गरे।
उनले सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता रहेको बताए। बिस्तारै बिस्तारै थाहा नपाउने गरी सरकार एमालेकरण हुन लागेको उनको आरोप छ।
सांसद कोइरालाले सरकारमा नरहेको बताए पनि अहिले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार संघदेखि प्रदेश तहसम्म नै रहेको छ। संयन्त्रले सरकार चलाउने कुरा कम्युनिष्टहरू र साम्यवादी देशहरूमा मात्रै हुनसक्ने भन्दै लोकतन्त्रमा त्यस्तो नहुने जिकिर गरे।
उनले अहिले केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्रबाट शासन गर्ने र अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भइरहेको बताए।
सांसद कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्नेगरी ल्याइएको बताए। नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाइने बताए।
कुनै पनि हालतमा सरकारले संसदमा पेश गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गरेर सम्बन्धित सरोकारवालहरूसँग छलफलपछि मात्रै पुनः ल्याउनुपर्ने बताए।
सांसद कोइरालाले देशमा सुशासन, राजनीतिक स्थायित्व दिनका लागि वर्तमान सरकार बनाए पनि सरकारका काम कारबाही घुस दिनेलाई समात्ने र घुस लिनेलाई उन्मुक्ति दिने किसिमको देखिएको आरोप लगाए।
उनले सरकारका महान्यायाधिवक्ता रमेश बडालले राज्यले दिएको अधिकारको दुरुपयोग गरेको आरोप लगाए ।