Hamro Sanchar

अब यूएईबाट पनि नेपालीलाई श्रम स्वीकृति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २ गते


काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्न थालेको छ।

बिहीबार दुबईमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सेवा आरम्भ गरे।

अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधालाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए।

उनले सम्बन्धित राजदूतावासबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिक लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झञ्झटबाट मुक्त हुने र आफ्नो पेशा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताए।

मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरुबाट पनि प्रवाह हुने बताउँदै उनले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकुल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको बताए।

संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने बताए।

राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गरे।

कार्यक्रममा श्रमसम्बन्धी अन्तरक्रि या पनि आयोजना गरिएको थियो। वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने अबुधाबी मस्कटपछि दोस्रो राजदूतावास हो ।


प्रतिकृया दिनुहोस्