काठमाडौं । अमेरिकाले करको नयाँ दर लागू गरेपछि क्यानडाले पनि अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ ।
अमेरिकाले आजदेखि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाएपछि क्यानडाले पनि अमेरिकी सामानमा उस्तै कर लगाएको प्रधानमन्त्री जस्टिन ट्रुडोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमले पनि अमेरिकामाथि त्यस्तै प्रकारको कर लगाउने बताउनुभएको बीबीसीले जनाएको छ । चीनले व्यापार युद्धमा कसैले नजित्ने भन्दै विश्व व्यापार सङ्गठनमा मुद्दा दायर गर्ने बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको आदेशले नयाँ कर लागू भएको हो । सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा ट्रम्पले गैरकानुनी आप्रवासन र घातक लागूऔषधको खतराका कारण आफूले आपत्कालीन आर्थिक शक्तिको प्रयोग गरेको उल्लेख गर्नुभएको छ ।
चीनले फेन्टनिल नामको औषधि मेक्सिको र क्यानडालाई दिएको र ती देशबाट अमेरिकामा आएको दाबाी गर्नुभएको छ । अर्थविद्हरूले राष्ट्रपति ट्रम्पको कदमले अमेरिकामा खाद्यान्न र इन्धनको मूल्यवृद्धि गराउनसक्ने तथा क्यानडा र मेक्सिकोलाई मन्दीतर्फ धकेल्नसक्ने चेतावनी दिएका छन् ।