Hamro Sanchar

कवाड व्यवसायीमाथि निर्ममतापूर्वक रड प्रहार, ५ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २० गते


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकमा कवाड व्यवसायी मुकेश यादवलाई रडले निर्ममतापूर्वक एक समूहले कुटपिट गरेका छन् ।

कुटिएका यादव गम्भीर घाइते भएका हुन् । जनकपुरधाममा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुरर सिंहले घाइते यादवको उपचार ललितपुरको बी एण्ड बी अस्पतालमा भइरहेको जानकारी दिए ।

रडले यादवमाथि एक समूहले आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यादवमाथि रडले निर्ममतापूर्वक प्रहार गरिरहेको भिडिओमा देख्न सकिन्छ।

डिएसपी सिंहका अनुसार घटना शनिवार दिउँसोको हो । यादव कवाड व्यवसायी हुन् । व्यावसायकै विषयमा छलफलको क्रममा विवाद भएपछि उनीमाथि आक्रमण गरिएको खुलेको छ ।

कुटपिटमा जनकपुरधाम १३ का फेकु साह, अमित साह, तुल्सी साह, सुभाष साह र भारत विहार राज्यको सितामढी विष्णुपुरका विकास साह संलग्न रहेको र उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिएसपी सिंहले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्