रौतहट । माओवादीबाट एमाले हुँदै स्वतन्त्र सांसद जितेर फेरि आम जनता पार्टी गठन गरेका पूर्व मन्त्री तथा सांसद प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
रौतहट ३ तत्कालीन सत्ता गठबन्धन कांग्रेस,माओवादी र नेकपा एससहितको समर्थनमा सांसद जितेका साहविरुद्ध नेकपा एसबाटै निर्वाचित बौधिमाइ नगरपालिकाका मेयर प्रदिप यादवले अवहेलनामा कारवाही माग गर्दै रिट दर्ता गराएका हुन् ।
साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका नेताका झोले न्यायाधीश’ भनेर जिल्ला न्यायाधीशमाथि आरोप लगाएका थिए । यसबाट अदालतको अवहेलना भएको र न्यायाधीशको अपमान गरेको भन्दै मेयर प्रदिपकुमार यादवले मुद्दा दर्ता गरेका हुन् ।
साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप समेत छ । सांसद साह र मेयर यादवबीच विवाद भइरहेको छ । मेयर यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गरेको आरोप साहका कार्यकर्ता गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउन न्यायधाीशले आदेश दिएका थिए ।
साहले फेसबुकमा लेखेका छन्–नेताहरुको झोले न्यायाधीशले रौतहट बदनाम एवं अस्तव्यस्त भयो । बेइमान एवं अयोग्य न्यायाधीशहरुलाई छानविनको दायरमा ल्याउन म सम्माननीय प्रधान न्यायाधीशज्यूको विशेष ध्यानाकर्षण गराउँछु ।
रौतहट जिल्ला अदालतमा मनोज केसीसहित अम्बिका प्रसाद दाहाल,पुन्य प्रसाद सापकोटा,विमला रेग्मी,तिलक कार्की,शम्भु प्रसाद रेग्मी र दुर्गा प्रसाद भट्टराई न्यायाधीश छन् । उनीहरु सबै खुला प्रतिस्पर्धा गरेर र न्याय सेवाबाट न्यायाधीश बनेका हुन् ।