Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्रीको उपस्थितिमा आज सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ११ गते


Advertisement

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (ब्रेक थ्रु) आज हुँदैछ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम छ। मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुनेछन्।

आयोजनाका योजनाप्रमुख कृष्णराज अधिकारीले आज प्रधानमन्त्रीबाट अन्तिम ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए। सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो।

यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो। सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ।

तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो। यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ। पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो ।

सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ।

विस २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्न थालेको हो । आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन्।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन ९एसडीसी० ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो। उक्त कम्पनीले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको दुई हजार सात सय मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको जानकारी सरकारलाई दिएको थियो। सोही सुझावअनुसार सुरुङमार्ग निर्माणको निर्णय भएको हो।

विशाल चट्टानले युक्त भिरमा रक सेटअर्थात् स्लोप प्रोटेक्सनको काम गर्न सम्भव नभएको क्षेत्रमा सुरुङको प्रस्ताव भएअनुसार यो सुरुङ खन्न थालिएको हो।

२०७६ मङ्सिर २ गते सुरुङमार्गका लागि रु १० अर्ब १५ करोड स्रोत सुनिश्चित भएको थियो। हाल यहाँ दैनिक ४० जना चिनियाँ र नेपाली दक्ष, अर्धदक्ष र अदक्ष गरी एक सय ५० जनाले नियमित काम गरिरहेका छन्। छिचोलिएको सुरुङभित्र पसेर सेकेण्डरी सपोर्टको काम भइरहेको छ।

सुरुङका दुवै मोहोडामा ‘रक सेट र स्लोप प्रोटेक्सन’

सिद्धबाबा सुरुङमार्ग निर्माण गर्दा सडकमा मुख्य जोखिम क्षेत्रलाई छाडेर छोटो सुरुङ बनाइएको आम बुझाइ छ। सुरुङमार्गको बुटवल र तानसेनतिरका दुवै मोहोडामा जोखिम क्षेत्रमा तीन हजार पाँच सय मिटर लामो रकनेट ९जाली० र स्लोप प्रोटेक्सन गरिनेछ।

यो सुरुङमार्गमा पुग्ने बुटवलतिरको खण्ड र सुरुङमार्गबाट निस्किएर तानसेनतिरको खण्डको जोखिमको सडकलाई माथि भिरसम्मै सुरक्षा गर्ने प्रविधि प्रयोग गरिने छ। अष्ट्रियाको ‘न्याथम मेथड’ नामको नयाँ डिजाइनमा सुरुङमार्ग बनेको छ। सोहीअनुसारका नयाँ डिजाइनमा रकसेट र स्लोप प्रोटेक्सनको काम हुने सुरुङमार्गका इञ्जिनियर श्रीजेस पौडेलले बताउँछन्।

यसअघि इञ्जिनियर पौडेल नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माणमा संलग्न छन्। दुवै मोहोडामा सडकदेखि करिब ३५ मिटर माथिसम्मै स्लोपलाई सुरक्षा प्रदान गरिने इञ्जिनियर पौडेलले बताए।

अग्लो भिर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा पहिरो झरिरहन्छ । दोभानदेखि बुटवलको चिडियाखोलासम्मको पाँच किलोमिटर क्षेत्र जोखिमपूर्ण मानिन्छ । बाह्रै महिना पहिरो झरेर हरेक वर्ष मानवीय क्षति हुने यो खण्डलाई सुरक्षित बनाउन सुरुङ निर्माण थालिएको हो।


प्रतिकृया दिनुहोस्