Hamro Sanchar

ओलीको कारण एमालेभित्र पनि निकै उकुसमुकुस छ : प्रचण्ड

आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको प्रष्टिकरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १० गते


सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको बताएका छन् ।

आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट रहेको जिकिर गरे ।

संविधान र जनताको भावना विपरीत सरकार गठन भएकोले धेरै पर नजाने उनको भनाइ थियो । आफूले भने अनुसार नै सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको प्रचण्डले दाबी गरे । यद्यपि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले प्रस्ट पारे ।

देशको राजनीति सहज नदेखिएको भन्दै उनले प्रधानमन्त्री ओलीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए ।

ओलीले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै प्रचण्डले समितिमा गइसकेको विधेयकलाई अध्यादेशबाट शासन गर्नु गलत भएको बताए । आफूहरूले विशेष अधिवेशन बोलाउने भनेपछि मात्र सरकार संसद् बोलाउन तयार भएको उनको आरोप थियो ।


प्रतिकृया दिनुहोस्