Hamro Sanchar

युवकमाथि निर्घात कुट्पिट गर्ने प्रहरी निलम्बित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ७ गते


काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।

कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।

‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार ती असई गणेशस्थान बिटमा कार्यत बुद्धिबहादुर घर्ती भुजेल हुन् । उनले प्रहरी आचरणविपरीत काम गरेकाले निलम्बन गरिएको मिश्रले जानकारी दिए । उनका अनुसार घटना गत पुस १५ गतेको हो ।

घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि युवकमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरीले सडकमा युवकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि वक्तव्य जारी गर्दै प्रहरी प्रधान कार्यालयले संलग्न कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको हो ।


प्रतिकृया दिनुहोस्