Hamro Sanchar

विपक्षी दलको निष्कर्ष : सरकार स्वेच्छाचारी बन्दै गयाे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २ गते


काठमाडौं । संसद्का ६ वटा विपक्षी दलले सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकालेका छन्।

आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा नेताहरुले सरकारले संसद् अधिवेशन छलेर अध्यादेश ल्याएकोप्रति विरोध जनाएका हुन्।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र उपाध्यक्ष वेदुराम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक अध्यक्ष डीपी अर्याल, नेपाल समाजवादी पार्टीबाट अध्यक्ष महीन्द्र यादव तथा आम जनता पार्टीबाट अध्यक्ष प्रभु साहलगायत सहभागी थिए।

बैठकपछि माओवादी नेता वर्षमान पुनले सरकार स्वेच्छारी बन्दै गएको निष्कर्ष बैठकले निकालेको जानकारी दिए। ‘सरकारले संसद्लाई छल्न खोजेको छ। हिँउँदे अधिवेशन नबोलाएर अध्यादेश ल्याउने काम सरकारले गरको छ,’ पुनले भने, ‘यो सरकारको स्वेच्छाचारी प्रवृत्ति हो।’

उनले जनताका साझा सरोकारका विषयमा छलफल गर्न र कानुन निर्माणको लागि तुरुन्तै हिउँदै अधिवेशन बोलाउनुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए।

‘सरकारले संसद्लाई छलेर चारवटा अध्यादेश जारी गरेको छ। अर्को अध्यादेश पनि ल्याउने तयारी गरिरहेको छ,’ उनले भने, ‘यो सरकारको स्वेच्छाचारी प्रवृत्ति हो। यस्तो प्रवृत्तिलाई छाडेर सरकारले नियमित हिउँदै अधिवेशन बोलाउनु पर्छ। कानुन निर्माण, जनताका समस्याका विषय त्यहाँ छलफल हुन्छन्।’

उनले आजको बैठकमा संसदका ६ वटा विपक्षी दल सहभागी भएको जानकारी दिए। संसदमा रहेका अरु विपक्षी दलको पनि आजको बैठकप्रति सकारात्मक समर्थन रहेको उनले बताए। ‘आगामी बैठकमा हामी पनि सहभागी हुन्छौँ भन्ने सन्देश उहाँहरुले पठाउनु भएको छ,’ पुनले भने।

यदि सरकारले यसैगरी फेरि पनि संसदलाई छलेर काम गर्छ भने प्रतिपक्षी दलले विशेष अधिवेशन माग गर्ने पनि उनले बताए। ‘त्यसको पनि तयारी गर्नुपर्छ भन्ने समझदारी हामीबीच भएको छ,’ पुनले भने।

महँगी बढेर गएको, देशमा भ्रष्टाचार, अनियमितता र स्वेच्छाचारिता बढेको विषयमा पनि बैठकमा छलफल भएको पुनले बताए।

पुनले दुई ठूला दलले हामी गणितीय रुपमा सहज अवस्थामा छौँ भन्ने नाममा जनताका आवाज र भावनाविपरितका काम गर्न थालेको आरोप लगाए। ‘यसप्रति खबरदारी गर्न हामी तयार छौँ,’ पुनले भने।

थ्रेस होल्डको नाममा तयार भइरहेको विधेयकमा साना दलहरुको आवाज कमजोर पार्ने प्रयत्नमा दुई दल लागेको आरोप पनि पुनले लगाए।

‘लोकतन्त्रको सुन्दरता भनेको समावेशिता पनि हो। त्यसलाई कमजोर बनाएर कथित दुई दलिय व्यवस्थातिर देशलाई लैजाने प्रयत्न भइरहेको छ,’ पुनले भने, ‘त्यो बेठिक छ भन्ने हाम्रो साझा निष्कर्ष हो। यी विषयलाई हामी ड्राफ्ट गछौँ। त्यसको लागि समिति बनाएका छौँ। भोलिपर्सी नै हामी यस विषयमा साझा धारणा बनाउँछौँ।’

बैठकले बेदुराम भुसाल र वर्षमान पुन रहेको कार्यदल गठन गरेको छ ।


प्रतिकृया दिनुहोस्