Hamro Sanchar

सहकारी ठगी प्रकरण : रविविरुद्धको मुद्दामा आज थुनछेक बहस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २९ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज थुनछेक बहस हुने भएको छ ।

आइतबार बयान सकिएपछि आज थुनछेक बहस हुने भएको हो । हिजो थुनछेक बहस नहुँदा उनलाई हिरासतमा पठाइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आइतबार बयान सकिएपछि थुनछेक बहसका निम्ति जिल्ला सरकारी वकिललाई खबर गरिएको थियो । तर, सरकारी वकिलहरू ढिला गरी अदालत पुगेपछि बहस सुरु हुन सकेको थिए । थुनछेक बहस सुरु हुन नसकेपछि लामिछानेलाई प्रहरी हिरासतमा राख्ने आदेश भएको थियो । ललामिछाने थुनछेक बहस नसकिँदासम्म हिरासतमै रहनेछन् ।

आइतबार बिहान उनी आफैँ अदालतमा हाजिर भएका थिए । आज थुनछेक बहस सकिए आजै आदेश आउनेछ ।

रविविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मी सरकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

गएको बिहीबार लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी रकम बुझाएर उनी बिहीबार नै थुनामुक्त भएका थिए ।


प्रतिकृया दिनुहोस्