काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्याउन उद्यत देखिएको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डको नाम उल्लेख नगरी उनलाई ‘अस्थिरता, अराजकता र प्रायोजित निराशा’ को प्रयास गरिरहेको पात्रका रूपमा चित्रित गरेका छन् ।
‘आज माओवादी केन्द्र एक वर्षअगाडि आफ्नै प्रदेश सभा सदस्यहरूको समेत सहभागितामा नामाकरण गरिएको ‘कोशी’को विरुद्ध उग्रजातियतावादी समूहहरूसँग मोर्चाबन्दी गरिरहेको छ । ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्याउन उद्दत देखिएको छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
ओलीले माओवादी नेतृत्वले पूर्वराजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको आरोप पनि लगाएका छन् । ‘पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको छ,’ ओलीले प्रतिवेदनमा भनेका छन् ।
सरकारमा रहँदा आफैंले कारबाही गरेका व्यक्तिहरू र समूहको खुल्ला समर्थनमा उत्रिएको आरोप प्रचण्डविरुद्ध ओलीले लगाएका छन् । ‘प्रधानमन्त्रीको चीन भ्रमण र हिजो आफ्नै कार्यकालमा भएको सम्झौतालाई समेत विवादित बनाउन उद्दत देखिएको छ,’ उनले भनेका छन्, ‘यी घटनाक्रमहरू माओवादी केन्द्रमा गहिरिँदै गरेको वैचारिक विचलन, राजनीतिक अस्थिरता, अवसरवाद र सरकारबाट बाहिरिनुपरेका पीडाका अभिव्यक्ति हुन् ।’
कांग्रेस–एमालेबीच गठबन्धन भएपछि अस्थिरतामा रमाइरहेका समूहहरूमा बेचैनी उत्पन्न भएको ओलीले भनेका छन् । ‘दुई मुख्य राजनीतिक दलहरूबीच नयाँ राजनीतिक सहकार्य प्रारम्भ भएपछि, यो सहकार्य आगामी निर्वाचनसम्म दिगो रहने आधार बलियो बन्दै गएपछि र आगामी निर्वाचन पनि मुख्य राजनीतिक दलहरूले एक्लै लड्ने उद्घोष गरेपछि अस्थिरतामा रमाइरहेका र आफ्नो लगानी एवं हैसियतभन्दा अत्यधिक लाभ लिइरहेका समूहहरूमा बेचैनी उत्पन्न भइरहेको छ,’ उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
ओलीले अगाडि भनेका छन्, ‘तीमध्ये कतिपयलाई अस्तित्व सङ्कटको प्रश्नले त्रसित बनाएको छ भने कतिलाई ‘हङ पार्लियामेन्ट’भित्र खेलिने झिँगेदाउको खेल अन्त्य हुने चिन्ताले सताएको छ । यतिबेला यस्ता तत्वहरू अस्थिरताको सुनियोजित प्रयासमा लागिरहेका छन् ।