काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने बताएका छन् ।
आइतबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्याउने कामले पार्टीलाई बलियो नबनाउने टिप्पणी गरे ।
‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन,’ अध्यक्ष ओलीले भनेका छन्, ‘बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।’
उनले केन्द्रीय कमिटी बैठकमा ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पनि पेस गरेका छन् । अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले तीनरतीन मिनेट धारणा राख्नेछन् । बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह पनि गरे ।
‘पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको छ,’ ओलीले भनेका छन् । उनले विरोधीहरूले लगाएका आरोपको तथ्य र प्रमाणका आधारमा खण्डन गर्न पनि निर्देशन दिएका छन् ।
‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ,’ ओलीले भनेका छन् ।