
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीसँग समझदारी विकास गरेर जाने सहमति भएको बताएका छन् ।
आज पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताका लागि माधव र आफू एकजुट भएको बताए । उनले जुन दिन एकता हुन्छ, त्यही दिन मिडियालाई जानकारी दिने प्रतिक्रिया दिए ।
यस्तै कहिलेसम्म एकता हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै गौतमले छिट्टै हुन सक्ने बताए । यस्तै भीम रावललाई समेट्ने विषयमा माधवलाई नै थाहा होला भन्ने जवाफ फर्काए।
उनले तपाईँ केपी ओलीबाट पीडित भएको हो भन्ने प्रश्नमा असहमति जनाउँदै आफू राजीनामा दिएर एमालेबाट निस्केको व्यक्ति भएकाले ओली, प्रचण्ड, माधव र झलनाथ कसैबाट पनि उत्पीडनमा नपरेको उनले दाबी गरे ।

















