Hamro Sanchar

कागेश्वरीमा एनजी उन्मुलन अभियान सुरु, प्रधानाध्यापक र अध्यक्षले गरे पाँच बुँदे प्रतिवद्धतामा हस्ताक्षर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १२ गते


काठमाडौं, पुस १२- कागेश्वरी मनोहरा नगरपालिकाले आजबाट ननग्रेड अर्थात् एनजी उन्मुलन अभियान सुरु गरेको छ ।सार्वजनिक विद्यालयको शैक्षिक सुधारमा लागि परेको नगरपालिकाले कान्ति भैरव माध्यमिक विद्यालयमा एक कार्यक्रमबीच औपचारिक रुपमा सुरुवात गरेको हो ।

अभियानको थालनी भएसँगै नगरपालिकाका १५ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्षले एनजी उन्मुलनका लागि पाँच बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।

प्रतिबद्धतामा चालू शैक्षिक सत्र २०८१ को अन्त्य सम्ममा एनजी उन्मुलन गर्ने गरी अधिकतम प्रयत्न गर्ने, न्यून सिकाइ उपलब्धी भएका विद्यार्थीलाई लक्षित गरी ७५ दिने रिमिडियल टिचिङ क्याम्प सञ्चालन गर्ने, प्रत्येक विषयको न्यूनतम लक्षित प्राप्ताङ्क घोषणा गरी वैयक्तिक उपचारात्मक शिक्षणको व्यवस्था मिलाउने, प्रत्येक शनिबार परीक्षा सञ्चालन गरी सिकाइ उपलब्धी सुधारमा निरन्तर क्रियाशील रहने, सबै विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धी ३५ प्रतिशत सुनिश्चत गर्नेलगायत पाँच वटा रहेका छन् ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख पुष्प ढकालले सिकाइ कमजोर भएका विद्यार्थीको पहिचान गर्ने र ती विद्यार्थीको आवश्यकताको आधारमा समूह निर्माण गरेर उपचारात्मक विधिबाट सिकाइ सुधार गर्ने, साप्ताहिक परीक्षा लिने, पृष्ठपोषण दिने नीति लिएको जानकारी दिए । उनकाअनुसार विद्यार्थीको सिकाइ कम्तीमा ३५ प्रतिशत सुनिश्चित गर्नु पर्ने हुन्छ ।

शिक्षकले सिकाइ सुधार योजना बनाएर कार्यान्वयन गर्नु पर्ने र पहिला शिक्षकले घोषणा र त्यसपछि विद्यालयको सिकाइको औषत अंक घोषणा गरिने ढकालले बताए ।

नगरपालिकाले एनजी उन्मुलन गर्न बिहान, बेलुका र शनिबार अतिरिक्त कक्षा संचालन गर्न विद्यालयलाई अनुदान दिने नगरप्रमुख उपेन्द्र कार्कीले बताए । विद्यालयकै विषयगत शिक्षकले अतिरिक्त कक्षा चलाएर विद्यार्थीको सिकाइ सुधार गर्ने योजना अघि सारिएकाले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई ‘रिमिडिअल’ कक्षा चलाउन लागेको नगरप्रमुख कार्कीको भनाई छ । सबै विद्यार्थी ग्रेडेड भएको खण्डमा नगरपालिकाले पुरस्कृत गर्नेपनि उनले बताए ।

नगरप्रमुख कार्कीले विद्यार्थीले कम्तीमा ३५ प्रतिशत ल्याउने गरी अध्यापनका कार्यमा लाग्न प्रधानाध्यापकहरुलाई निर्देशन दिए । विद्यार्थीले ३५ प्रतिशत नल्याउने हो भने छुट्टै लगानी गरेर अतिरिक्त कक्षा सञ्चालन गरेको के अर्थ भन्दै प्रश्न गरेका थिए । नगरपालिकाको अभियानलाई बेवास्ता गरे वा प्रतिफल शुन्य देखिए त्यस्ता शिक्षकलाई कारबाही गर्ने चेतावनीसमेत दिए ।

‘तपाईंले पढाएका विद्यार्थीले कम्तीमा ३५ प्रतिशत ल्याउनै पर्छ । यदि यो अंक हासिल गर्न सक्दैनन् भने हामीले छुट्टै लगानी गरेर अतिरिक्त कक्षा सञ्चालन गरेको अर्थ के हुन्छ ?’, विद्यार्थीको नतिजा एनजी आउँछ भने शिक्षकको कमजोरी हो । विद्यार्थीको सिकाइ सुधार गर्न नसक्ने त्यस्ता शिक्षकलाई कक्षामा भन्दा पनि चौरमा सुन्तला र बदाम किन्न म लगानी गर्न तयार छु ।’ नगरप्रमुख कार्कीले भने ।

नगरपालिकाले गरेको एनजी उन्मुलन अभियानमा सहयोग गरिदिन प्रतिफल निस्कने गरि काम गर्न विद्यालयका प्रधानाध्यापक र अध्यक्षहरुलाई नगरप्रमुख कार्कीले अनुरोध गरे ।

नगरपालिकाले केहि समयदेखि पढाउने शिक्षकहरूको बैंक सञ्चालनमा ल्याएको छ । विद्यालयहरुमा विद्यार्थी संख्याको अनुपातमा शिक्षकको संख्या कम भै शिक्षण सिकाइ कार्यमा बाधा पर्न गएको भन्दै शिक्षक बैंक सुरू गरेको हो ।

शिक्षक बैंकमा रहेर अध्यापन गर्ने शिक्षकहरुले तहअनुसार दैनिक ज्यालादारीको हिसाबले पारिश्रमिक प्राप्त गर्न सक्छन् ।

नगरपालिकाका १५ वटा सामुदायिक विद्यालयमा ५० हजारभन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्