काठमाडौं । सोमबार स्थगित भएको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ। मंगलबार अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रका सचिव लीलामणि पोख्रेलले जानकारी दिए।
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र ढुंगानाको श्रद्धाञ्जलीलगायतका कार्यक्रममा नेताहरु व्यस्त हुने भएपछि माओवादीले हिजो बस्ने भनेको बैठक स्थगन गरेको थियो।
विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन सहितका विषयमा छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको हो।
केन्द्रीय समितिको बैठक आगामी पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय यसअघि नै माओवादी केन्द्रले गरिसकेको छ। आजको बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।