Hamro Sanchar

महिला यू–१९ विश्वकप क्रिकेट छनोट : नेपालको विजयी सुरुवात

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २१ गते


Advertisement

काठमाडौं । रचना चौधरीको घातक बलिङ र कप्तान पुजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले यूएईमा सुरु यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ।

बुधबार यूएईको अजमानमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै छनोटमा सानदार सुरुवात गरेको हो।

नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा ३५ रन बनाउँदा अलआउट भयो।

थाइल्यान्डलाई सस्तैमा रोक्न रचना कुमारी चौधरी एक्लैले चार विकेट लिइन्। उनले ३ ओभरमा १२ रन खर्चेर मात्र १० रन दिइन्। कप्तान पुजा महतो र रिया शर्माले समान २ विकेट लिए।

कृष्मा गुरुङर मनिषा कुमारी उपाध्यायले समान एक विकेट आफ्नो नाममा गरे।

थाइल्यान्डका लागि अप्हीसरा सुवान्चोन्रथीले बनाएको १३ रन नै सर्वाधिक रह्यो। नाथ्रिका थोकाई र चनोक्नानले समान ६ रन बनाए। चार ब्याटर शून्य रनमा पेभेलियन फर्के।

त्यसअघि थाइल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओरभमा ६ विकेटको क्षतिमा १ सय २ रनको योगफल तयार पारेको गियो।

कप्तान पुजा महतोले सर्वाधिक ३५ रनको योगदान दिईन्। उनले ४० बलमा ३ चौका र १ छक्का प्रहार गरिन्।

सोनी पाख्रिन र सिमा केसीले समान १९ रन थपे। सावित्री धामी र अलिसा कुमारी यादवले समान ७ रन बनाए। सना प्रविन ५ तथा ज्योत्सिना मरासिनी ४ रनमा पेभेलियन फर्के।

छनोटको दोस्रो खेलमा नेपालले बिहिबार कुवेतसँग खेल्नेछ। २४ गते युएई र २५ गते पुनः थाइल्यान्डसँग खेल्नेछ।

चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू१९ विश्वकपमा स्थान बनाउनेछन्।

यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ। एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्टे«लिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डी मा स्थान बनाउनेछ।


प्रतिकृया दिनुहोस्