पोखरा, कात्तिक ५- आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले आइतबार पोखरामा कुटपिट गरेका युवा आफ्नै पार्टीका पालिका संयोजक रहेको खुलेको छ । कार्यकर्ताले प्रर्दशनका क्रममा उनलाई घुसपैट गरेर आएको भन्दै कुटपिट गरी रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेललाई घाइते बनाएका छन् । उनी अहिले घरमै आराम गरिरहेका छन् ।
उनको ओठमा दुइटा टाँका लगाइएको छ । ओठ सुन्निएको छ । आइतबार दिउँसो आन्दोलनमा जाँदा खाएको कुटाइले अहिले पनि शरीर दुखिरहेको पौडेल बताउँछन् । ‘मैले त आफ्नै साथीहरूबाट कुटाइ खाएँ । हिजोको आन्दोलनमा मलाई ठूलो चोट लागेको ओठमा हो । धेरै नै रगत बगेछ,’ उनले भने, ‘अन्त पनि दुखेको छ, घरमै आराम गरिरहेको छु ।’ आन्दोलनमा रविका पक्षबाट नाराबाजी गरिरहेका पौडेलले मिनरल वाटरको बोतल प्रहरी भएतिर फ्याँकेका थिए ।
प्रहरीमाथि आक्रमण गरेको भनेर उल्टै रास्वपाका कार्यकर्ताले उनलाई निर्घात कुटपिट गरेका थिए । आफ्ना कार्यकर्ता होइन घुसपैठिया हो भनेर उनलाई रास्वपाका आफ्नै साथीहरूले कुटेका हुन् । शान्तिपूर्ण आन्दोलन मात्र गर्ने नीतिविरूद्ध उनले प्रहरीलाई पानीको बोतलले प्रहार गरेपछि अरू कार्यकर्ताले उनलाई कुटेका हुन् । ‘मलाई बिहानैदेखि रिस उठेको थियो। प्रहरीले आन्दोलनमा जान चोकचोकमा रोकेको थियो,’ उनले भने, ‘मैले पानीको बोतलले प्रहरीलाई हानेर गल्ती गरें, मान्छे नचिनिकन पार्टीकै साथीहरूले मलाई कुटे।’