आज : २०८१ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इजरायलले गर्‍यो लेबनानको राजधानी बेरुतमा आक्रमण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १७ गते


Advertisement

काठमाडौं । लेबनानको आकाशमा ठूलो विस्फोट भएको भिडियो सार्वजनिक भएको छ । इजरायलले यो विस्फोट आफूले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमण भएको बताएको छ ।

हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो ।

त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् । मंगलबार राति एकै दिन इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ ।

लेबनानको भूमिमा घुसेर इजरायली सेनाले हिजबुल्लाह लक्षित आक्रमण गर्दै आएको छ । इजरायली सेनाले लेबनानको ४०० मिटर क्षेत्रमा प्रवेश गरेको जनाएको छ । यसैक्रममा लेबनानको तर्फबाट भएको आक्रमणमा इजरायलका आठ सैनिकको मृत्यु भइसकेको छ ।

हाल हिजबुल्लाह र इजरायली सेनाबीच ठाउँठाउँमा झडप भइरहेको छ । लेबनान सरकारको समाचार एजेन्सी नेशनल न्यूज एजेन्सी ९एनएनए०ले लेबनानको एतारुनमा भएको इजरायली आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यसअघि इजरायलको सिमानासँग जोडिएको देबेल गाउँमा पनि तीन जनाको मृत्यु भएको थियो ।

यो युद्धपछि मध्यपूर्व पुनः तनाव बढेको छ । मध्यपूर्वको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको छ ।

यस्तै युद्ध चर्किएपछि नेपाल सरकारले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार हालसम्म लेबनानमा सबै नेपाली सुरक्षित छन्, तर विकसित पछिल्ला घटनाक्रमबाट अधिकतम सतर्कता र सचेतना अपनाउनुपर्ने भएको छ । त्यसैले कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै मन्त्रालयले नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ ।

कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएप मार्फत सम्पर्क गर्न सकिने छ । यसैगरी बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

यसैगरी काठमाडौंमा परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्