काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको विषयलाई राजनीतिक रुपले शंकाको घेरामा राखेर अपव्याख्या गर्न नहुने बताएका छन्।
आज कञ्चनपुरको महेन्द्रनगरमा प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन।
संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी चरित्रलाई थप सुदृढ बनाउनेगरी संविधान संशोधन गरिने भएकाले यसमा शंका नगर्न समेत उनले उल्लेख गरेका छन् ।
संविधानमा भएको व्यवस्थाअनुसार संविधानको अभ्यासका क्रममा देखा परेका सबल र दुर्बल पक्षको समिक्षा गरेर संशोधन गरिने उनले बताएका छन् ।
राजनीतिक स्थिरतासँगै विसंगति, विकृति नियन्त्रणका लागि देशका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन भएको लेखकले बताए। कम्युनिस्ट र कांग्रेस मिल्दा ऐतिहासिक काम गर्न सफल भएको उनले बताए।
‘कांग्रेस र कम्युनिस्ट मिल्दा पञ्चायत ढाल्न सफल भयौँ, हामी मिलेर सशस्त्र द्धन्द्धलाई शान्तिमा ल्यायौँ, माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधान निर्माण गर्यौँ,’ लेखकले भने।
अहिले पनि विशिष्ट कार्यभार सम्पादन गर्न तालमेल गरिएको उनले बताए। कांग्रेस र एमालेबीच असार १७ मा भएको सात बु‘दे सहमति इमान्दार रुपमा कार्यान्वयन गर्न दुवै दल प्रतिबद्ध रहेको उनको जिकिर थियो।
यसको कार्यान्वयनमा कसैलाई पनि शंका नगर्न उनले आग्रह गरे। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले सहमतिलाई स्वीकारेर कार्यान्वयनमा दृढता व्यक्त गरेर उनले बताए।