सुर्खेत, भदौ १४- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन् ।
पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका प्रचण्डले भने, ‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचमा छु ।’
सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै उनले अहिले नै नेतृत्व हस्तान्तरण उपयुक्त नहुने बताए ।
अध्यक्षभन्दा माथि प्रचण्ड भइसकेको भन्दै उनले पार्टीको अध्यक्षमै रहिरहने सोचमा नरहेको बताए।
उनले पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताएका छन् ।
उपमहासचिव जनार्दन शर्माले ल्याएको प्रतिवेदनमा पनि अहिले नै अध्यक्ष छोडेर अर्को अध्यक्ष बनाउने नभनेको उनले बताए ।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याइएको जिकिर गरेका छन् । पार्टीभित्र कुनै आन्तरिक विवाद नरहेको र भएका विवाद पनि समाधान भएको उनको दाबी छ ।
एक फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एमाले सांसद्हरुले सदनमै जनयुद्धलाई ‘हिंसा’ शब्द प्रयोग गर्नु जायज नभएको बताए । संविधानले विस्तृत शान्ति सम्झौतालाई नै संविधानकै अङ्ग बनाएकाले एमाले सांसदहरूले त्यसरी बोल्न नहुने उनले बताए ।
उनले माओवादी केन्द्रको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्दा राम्रो हुने बताए ।
भ्रष्टाचारलाई संरक्षण गर्नका लागि सरकार परिवर्तन भएको र सो तथ्य पुष्टि हुँदै गएको दाबी गर्दै उनले गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछोड्ने चेतावनी समेत दिएका छन् ।