काठमाडौं । ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले खुकुरीसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा ललितपुरकै महालक्ष्मी नगरपालिका-६ सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, सोही ठाउँका २९ वर्षीय समित राजवंशी, महालक्ष्मी-९ का २९ वर्षीय अमल पोख्रेल र गोदावरी नगरपालिका-७ का ३५ वर्षीय पदम लामा छन् ।
पक्राउ परेका मध्ये महर्जन र राजबंशी क्याफे सञ्चालक रहेको उनले बताए । लागु औषध सेवन गरेको आरोपमा यसअघि पक्राउ परेका एक व्यक्तिले दिएको सूचनाका आधारमा उक्त क्याफेबाट लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई महालक्ष्मी-१ तिमल्सिना चोकमा रहेको चियाचु क्याफेटबा आइतबार साँझ साढे ५ बजेतिर जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।
उनीहरुबाट ट्रामाडोल ७० पत्ता र खुकुरी बरामद गरिएको परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका छन् ।