रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेले निश्चित उद्देश्य पूरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पूरा गर्ने बताएका छन् ।
विगतमा पनि नेपाली कांग्रेस र एमाले मिलेर बनाएका सरकारले जे उद्देश्य लिएर सरकार बनाएका थिए त्यसलाई पूरा गरेको बताउँदै उनले वर्तमान सरकार साढे ३ वर्ष नै चल्ने र कुनै पनि उलथपुथल नहुने दाबी गरेका छन्।
मंगलवारदेखि लुम्बिनीमा शुरु भएको नेपाली कांग्रेस रुपन्देहीको ३ दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेको उपद्रोलाई आफूहरुले रोक्ने र कांग्रेसले चकचक नगर्ने बताउँदै अहिले बनेको सत्ता गठबन्धन पूरा अवधिसम्म नै चल्ने दाबी गरेका हुन्
महामन्त्री थापाले संविधान गतिशील दस्तावेज भएकाले समयको आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने भन्दै संविधानलाई चलायमान बनाउन आवश्यक रहेको चर्चा गरेका थिए। थापाले अहिलेको संघीयता नक्कली भएको भन्दै संविधान संशोधन गरेर सक्कली संघीयता कार्यान्वयनमा ल्याउने प्रष्ट पारेका छन् ।
यस्तै महामन्त्री थापाले कांग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै सुरु हु्ने जनाएका थिए ।