काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै सुरक्षा प्रबन्धको माग गरेकी छन् ।
उनले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्रीलाई सुरक्षा प्रबन्ध मिलाइदिन माग गरेकी हुन् ।
‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ,’ मन्त्री भट्टराईले लेखेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’
गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै उनले यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत गृह मन्त्रालयलाई अनुरोध गरेकी छन् ।
समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा विवाद हुँदा आक्रमणको धम्की आएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल, रेक्टर खड्क केसी र रजिष्ट्रार केदार हाल बिदामा छन् ।
मानविकी तथा समाजशास्त्र संकायकी डिन कुसुम शाक्यले विभागको प्रमुखमा टीकाराम गौतमको नाम सिफारिस गर्दा विभिन्न विद्यार्थी संगठनहरुले त्यसको विरोध गर्दै आएका छन् । विरोधमा रहेका विद्यार्थीबाटै सुरक्षा थ्रेट भएको त्रिवि पदाधिकारीहरुको भनाइ छ ।
२० दिनअघि प्रहरी वृत्त कीर्तिपुरले पनि त्रिवि पदाधिकारीहरुलाई आउजाउ गर्दा ख्याल गर्न भनेको थियो । त्यसपछि त्रिवि पदाधिकारीहरु असुरक्षित भएको भन्दै बिदामा छन् । उनीहरु बिदामा बस्दा दैनिक प्रशासनिकलगायत काम प्रभावित भएकाे छ ।