Hamro Sanchar

दुर्घटनामा परी मृत्यु भएको शव सुष्मा नेपालीको नभएको पुष्टि, आफै आइन् प्रहरीको सम्पर्कमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ३१ गते


काठमाडौं, साउन ३१- बिहीबार दिउँसो १:४० बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा गठ्ठाघरमा दुर्घटनामा परी मृत्यु भएको शव सुष्मा नेपालीको नभएको पुष्टि भएको छ ।

यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको बताएको थियो । तर पछि सुष्मा नेपाली नै सम्पर्कमा आएपछि उक्त शव सुष्मा नेपालीको नभएको पुष्टि भएको हो । दुर्घटनामा परेकी भनिएकी सुष्मा नेपाली नै प्रहरीको सम्पर्कमा आएर आफ्नो परिचय खुलाएकी हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार उक्त शवको पहिचान अझै हुन सकेको छैन ।

एक जना व्यक्तिले उक्त शव आफ्नो बहिनीको हो भन्दै प्रहरीकहाँ आएको उनले बताए ।

घटनास्थलबाट शव पोष्टमर्टमको लागि महाराजगस्‍थित शिक्षण अस्पताल लगिएको छ ।

बिहीबार दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रक चालक दुर्घटनापछि फरार छन् । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्