Hamro Sanchar

न्यूरोडमा सडकपेटी विस्तारको विषयलाई लिएर उत्पन्न विवाद थप चर्कियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ५ गते


काठमाडौं, साउन ५- काठमाडौंको न्यूरोडमा सडकपेटी विस्तारको विषयलाई लिएर उत्पन्न विवाद थप चर्किएको छ । महानगरले गएको बुधवारदेखि फुटपाथ विस्तारको काम थालेपछि स्थानीयवासी, वडाध्यक्ष र व्यापारीले निरन्तर विरोध गर्दै आएका छन् ।

न्यूरोड गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको विषयलाई लिएर हिजो पनि दिनभर प्रदर्शन भएको थियो । उच्च अदालत पाटनले काम अघि बढाउन आदेश दिएसँगै महानगरपालिकाले सडकको पेटीको विस्तारको कामलाई अगाडि बढाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

यसअघि सडक डिभिजन कार्यालयले विस्तारको काममा हस्तक्षेप गरेपछि महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । महानगरको रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

महानगरले विरोध भए पनि काम नरोकिने जनाएको छ । तर वडाध्यक्ष, स्थानीयवासी र व्यापारीले महानगरले अदालतको आदेशपछि फुटपाथ विस्तार गर्नुअघि एक पटक पनि जानकारी नगराएको र महानगरले छलफलसमेत गर्न नचाहेको बताएका छन् । सडक पेटीको विस्तार गर्नुअघि उपभोक्ता, स्थानीयवासी र समुदायसँग छलफल हुनुपर्ने उनीहरुको माग छ ।


प्रतिकृया दिनुहोस्