Hamro Sanchar

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, भने- सबैमा सम्मान, सबैलाई धन्यवाद !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ३१ गते


Advertisement

काठमाडौं, असार ३०- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ ।

यसैबीच ओलीले आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि ‘सबै’प्रति धन्यवाद व्यक्त गरेका छन् । आइतबार बेलुका सामाजिक सञ्जालमार्फत उनले ‘सबै’मा सम्मान प्रकट गरेका छन् । “सबैमा सम्मान । सबैलाई धन्यवाद !!,” उनले फेसबुकमा लेखेका छन् ।


प्रतिकृया दिनुहोस्