
काठमाडौं, असार २८- कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकाको सहयोगमा निर्माण भएको प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित २ कोठे भवन उद्घाटन गरेका छन् ।
शुक्रबार आयोजित एक कार्यक्रमकाबीच मेयर कार्कीले निर्माण सम्पन्न भएको भवन उद्घाटन गरेका हुन् । भवनको माथिल्लो तलामा एक बाथरुमसहित २ कोठाको भवन नगरपालिकाको ९ लाख ५५ हजार र २० प्रतिशत जनश्रमदानमा निर्माण सम्पन्न भएको हो ।
भवन उद्घाटन कार्यक्रममा मेयर कार्कीले राम्रो कार्यको लागि नगरपालिकाको साथ सधै रहने प्रतिवद्धता व्यक्त गर्दै निर्माणमा सहयोग गर्ने भवन निर्माण समिति र स्थानीयबासीको प्रशंसा गरे । मेयर कार्कीले प्रहरी र नगरबासीहरुको सम्बन्ध सुमधुर बन्दै गएको बताउँदै यहाँ खटिएका प्रहरीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । प्रहरीलाई नगरपालिकाले सवारीसाधन मर्मत र तेल खर्च प्रदान गर्दै आइरहेको बताउदै आवश्यक पर्ने भौतिक पूर्वाधारहरुको छलफल गरेर परिपूर्ति गरिने उनको भनाई थियो ।
नगरपालिकाले उज्यालो ‘शहर, सुरक्षित शहर’को नीति लिएको जानकारी दिँदै मेयर कार्कीले नगरका मुख्य सडक, भित्री बाटो र चोकमा प्रबिधियुक्त, गुणस्तरीय बत्ति र सिसिटिभी जडान गर्ने बताए । यसको लागि करिब १८ करोड खर्च हुने अनुमान गरिएको पनि उनको भनाइ थियो । डीपीआर तयार भएको र यसै बर्षदेखि बहुबर्षिय ठेक्का प्रणालीमा लगेर सुरुवात गरिने उनले जानकारी दिए ।
जसले गर्दा अपाराधिक घटना कमी हुने र प्रहरी प्रशासनलाई पनि सहयोग पुग्ने मेयर कार्कीको भनाई थियो ।
प्रहरी प्रभाग काँडाघारीका प्रमुख प्रहरी निरीक्षक श्याम कुमार कटुवालले प्रहरी र जनताको सम्बन्ध नङ्ग र मासुको जस्तै हुनुपर्ने बताए । उनले आफुहरुलाई नगरपालिका र जनप्रतिनिधिको साथ र सहयोग रहेकोले आगामी दिनमा सुरक्षा र जनचासोका बिषयमा थप जिम्मेवार भएर लागि पर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष भीमसेन थापा, ८ का अध्यक्ष हरिभक्त पुडासैनी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति कबिर शर्मा, गान्धी आदर्श माविका ब्यबस्थापन समिति अध्यक्ष गया प्रसाद उपाध्याय, भवन निर्माण समितिका अध्यक्ष डोलनाथ पोख्रेललगायतले प्रहरी कार्यालय स्थापना कालमा भएका जटिलता, बाधा व्यवधान र हालसम्म भएका प्रगतिका बारेमा बोलेका थिए ।

























