काठमाडौं, असार २५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुरु हुने पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार बैठकमा निलम्बित महामन्त्री डा मुकुल ढकालका विषयमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।
अनुशासन समितिले डा ढकालमाथि अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ । बैठकमा सभापति लामिछानेले प्रतिवेदन पेश गर्ने र समितिको सिफारिसबारे छलफल गरी निर्णय गर्ने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए । प्रतिवेदनमाथि छलफल गर्नकै लागि दुई घण्टा समय निर्धारण गरिएकाले आजै निर्णय आउने उनले बताए ।
अनुशासन समितिले गरेको सिफारिस केन्द्रीय समितिले हुबहु वा परिमार्जन गरी कार्यान्वयन गर्नसक्ने बुर्लाकोटीले बताए । स्रोतका अनुसार अनुशासन समितिले डा ढकाललाई पार्टीबाट निष्कासन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ । गत बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा ढकाललाई एक साताका लागि निलम्बन गरिएको थियो ।
आफूले तयार पारेको समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल हुने बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने ढकालको माग पार्टीले अस्विकार गरेपछि उनी मुखमा मास्क र कालो टेप लगाएर बैठकमा सहभागी भएका थिए । आजको बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने कार्यबाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।