Hamro Sanchar

राजीनामा दिने ‘मुड’मा प्रधानमन्त्री प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २१ गते


Advertisement

काठमाडौं, असार २०- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजीनामा दिने ‘मुड’मा पुगेका छन् ।

आफूलाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेल्ने नेकपा एमालेले नै सरकारको समर्थन फिर्ता लिएर मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि अब विश्वासको मतका लागि कुर्ने कि राजीनामा दिनेबारेमा उनी आफू निकटस्थ नेता र कानूनविद्सँग परामर्शमा रहेको स्रोतको दाबी छ । प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेरै राजीनामा दिने तयारी गरे पनि प्रतिनिधि सभाको बैठक आइतबार मात्रै बोलाइएको छ ।

यद्यपि माओवादीको पदाधिकारी बैठकले भने प्रधानमन्त्रीले राजीनामा नदिने, बरु विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ । तर, एमालेले राजीनामा दिइसकेको र रास्वपाले पनि सरकार छाड्ने तयारी गरिरहेको अवस्थामा अब मार्गप्रशस्त गर्ने मुडमा प्रधानमन्त्री पुगेको जनाइएको छ । हिजो दिनभर आफू निकटस्थसँग छलफल गरेका प्रचण्डले आज पनि छलफल गर्ने र निर्णय लिने स्रोतको दाबी छ ।

तर, माओवादीका सचिव देवेन्द्र पौडेलले भने प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्रीले विश्वासको मत ‘फेस’ गरेरै सरकार छाड्ने सचिव पौडेलको दाबी छ ।

नयाँ सत्ता समीकरणमा सहमति गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले भने मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । आजसम्म राजीनामा नदिए कांग्रेस एमालेले पनि प्रधानमन्त्री चयनमा नयाँ रणनीति लिने जनाइएको छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारका लागि दाबी पेस गर्नसक्ने उनीहरुको तयारी छ ।

तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएमा वा प्रतिनिधिसभामा विश्वासको मत नपाएर पदमुक्त भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

 


प्रतिकृया दिनुहोस्